images

दश अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था,गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।