images

पेट्रोलियम पाइपलाइन दोस्रो चरणको काम तीव्र, चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने

काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।

आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ ।

अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ । परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।

दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य रहेको निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिएका छन् । दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो ।

परियोजनाको काम तोकिएका समयमै सम्पन्न गर्न रात्रि सयममा पनि काम गर्ने ठेकेदार पक्षले जनाएको छ । निर्माण सुरु भएको करिब ५५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दोस्रो चरणको परियोजनाको सम्पूर्ण खर्च करिब दुई अर्ब १५ करोड भारतीय रुपैयाँ रहेको छ । दोस्रो चरणको परियोजना निर्माण भएपछि समग्ररुपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ ।