images

राष्ट्रिय मानवअधिकार आयोगद्वारा स्वास्थ्य संस्था बन्द नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य संस्था बन्द नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै आयोगले चिकित्सक माथिका आक्रमण तथा कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । पछिल्लो समयमा बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमण, दुव्र्यवहार र स्वास्थ्य संस्थाहरूमा तोडफोडका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा कास्की, मकवानपुर, लमजुङ, चितवन लगायतका जिल्लाका अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकहरूले आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा पर्न गएको असरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

चिकित्सकमाथि भएका आक्रमण, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याको आयोगले विभिन्न माध्यमबाट निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ ।

आयोगले स्वास्थ्योपचारको क्रममा कुनै चिकित्सक दोषी देखिएमा निजलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा स्वास्थ्य संस्था र सिंगो स्वास्थ्य क्षेत्रलाई नै आक्रमण गर्ने प्रवृत्ति बढ्दै जानु लोकतन्त्र, मानव अधिकार र विधिको शासन विपरीत हुन जाने पनि ठहर गरेको छ ।