images

सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको छ ।

शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले आन्दोलनका कार्यक्रमहरु अन्त्य गरी नियमित काममा फर्कने सहमति भएको बताएका छन् ।

सहमतिपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउन उल्लेख छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशिल बनाइने सहमति भएको छ ।

स्वास्थ्यकर्मीहरु माथि बारम्बार भइरहेका कुटपिट र दुव्र्यवहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानूनी सुधारका विषयहरु समेटी प्रतिवेदन पेश गर्ने विषयमा सहमती भएको छ ।

सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.दीपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

पछिल्लो केही समययता मणिपाल अस्पताल, हेटौंडा, कञ्चनपुर लगायतका स्थानमा चिकित्सकहरुमाथी आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए ।