images

जुम्लामा पहिलोपटक स्याउ ग्रेडिङ मेशिन, जुम्ली स्याउको ब्राण्डिङमा सहयोग पुग्ने

जुम्ला । जुम्लामा पहिलो पटक स्याउ प्रशोधन तथा ग्रेडिङ मेशिन सञ्चालनमा ल्याइएको छ ।

 गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेसँगै  किसानलाई राहत पुगेको  छ ।

स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखाएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको स्थानीय किसानको भनाइ छ । अब उक्त मेशिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउको गुणस्तरियता र उच्च गरिमा बढ्ने पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

गुठिचौर एग्रो फार्मले उच्च घनत्वको स्याउका ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी किलो स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फार्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताए । ग्रेडिङ मेशिनले सुपर, ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ आकारमा ग्रेडिङ गर्नेछ ।

ग्रेडिङ मेशिनले गुठिचौर एग्रो फार्म प्रालिको बगैँचाको स्याउ मात्रै ग्रेडिङ नगरी जिल्लाका आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गरिदिने एग्रो फार्म प्रालिका सञ्चालक भण्डारीको भनाइ छ ।

जिल्लामा कूल चार हजार दुई सय ५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । -रासस