images

ओएसआर डिजिटलले ‘प्रसाद-२’को डिजिटल अधिकार विवादबारे जारी गर्यो आधिकारीक धारणा

ओ.एस.आर. डिजिटल इन्टरटेनिङ्ग द नेशन प्रा. लि. ले नेपाली कथानक चलचित्र ‘प्रसाद-२’को डिजिटल अधिकार विवादबारे आधिकारीक धारणा सहितको विज्ञप्ती जारी गरेको छ ।

ओ.एस.आर. डिजिटल इन्टरटेनिङ्ग द नेशन प्रा. लि. को प्रमुख कार्यकारी अधिकृत सुमित्रा थापाद्वारा विज्ञप्तीको पूरा पाठः

ओ.एस.आर. डिजिटल इन्टरटेनिङ्ग द नेशन प्रा. लि. कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापना भै नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता कायम रहेको कम्पनी हो । यस कम्पनीले विभिन्न चलचित्र, म्यूजिक भिडियो, गीतहरु तथा टेलिभिजन कार्यक्रमहरु उत्पादन गर्ने एवं अरु निर्माताले उत्पादन गरेको त्यस्ता सामाग्रीहरुको प्रतिलिपि तथा आर्थिक अधिकार प्राप्त गरी बजार व्यवस्थापन, विक्री वितरण एवं प्रकाशन प्रशारण समेतको कार्यहरु गर्दै आएको छ । 

ओएसआर डिजिटलका संस्थापक तथा प्रबन्ध निर्देशक ओम प्रकाश अग्रवाल

यसै क्रममा यस प्रा.लि. ले करार गरी डिजिटल राइट्स प्राप्त गरेको प्रसाद – २ नामको चलचित्रका निर्माताहरुका विवाद चुलिंदा उक्त चलचित्रका निर्माताका रुपमा पछि संलग्न भनिएको कम्पनीको तर्फबाट यस प्रा.लि.का प्रबन्ध निर्देशक श्री ओम प्रकाश अग्रवालका विरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता भै यहि मिति २०८०।६।१९ मा निज प्रहरी चौकीमा जाँदा पक्राउ पूर्जी थमाई प्रहरी हिरासतमा लिइएको थियो । उक्त खबर विभिन्न संचार माध्यममा आएपश्चात् देश विदेशबाट शुभचिन्तकहरुबाट चिन्ता व्यक्त गरी खोज खबर गर्नुभएको र सम्पूर्ण शुभचिन्तकहरुका सवालहरुलाई बेग्ला बेग्लै सम्बोधन गर्न असहज भएको हुँदा यो विज्ञप्तीद्वारा एकमुष्ट रुपमा सम्बोधन गर्न खोजिएकोछ । 

यस प्रा.लि.का प्रबन्ध निर्देशक श्री ओम प्रकाश अग्रवाल हिजो मिति २०८०।६।२१ गते जिम्मा जमानीमा हिरासतमुक्त हुनु भएको छ । यस कम्पनीले प्रसाद -२ नामको चलचित्रका सम्बन्धमा त्यस चलचित्रका निर्माताका रुपमा यस प्रा. लि.सँग सम्पर्कमा आएका शुभाष थापा प्रोडक्सन प्रा.लि. सँग उक्त चलचित्रको डिजिटल राइट्सका सम्बन्धमा मिति २०७६ । १२।९ गते करार गरी तोकिए बमोजिमको रकम समेत भुक्तानी गरिसकेकोमा पछि पुनः शुलभ थापा प्रोडक्सन पनि निर्माताका रुपमा संलग्न भएको भनी सो नयाँ कम्पनीसँग समेत पुरक सम्झौता गरी डिजिटल प्रशारण अधिकार समेत प्राप्त गरिएकोमा हाल आएर अर्का निर्माताले जाहेरी दर्ता गराएको अवस्था छ । उक्त जाहेरीका विषयमा प्रहरीबाट अनुसन्धान हुँदै गरेको अवस्था छ भने पछि न्यायालयबाट अन्तिम टुंगो लगाई न्याय मिल्ने कुरामा हामी विश्वस्त छौं । 

अन्तमा देश विदेशमा रहनुभएका र फोन लगायत सामाजिक संजाल मार्फत म्यासेज एवं पोष्टहरु मार्फत जोडिनुभएका सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । 

विज्ञप्तीको वास्तविक प्रतिः