काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।
नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २१ असोजदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।
२०६२ सालमा नेपाल बैंक लिमिटेडबाट बैंकिङ करियर सुरु गरेका उनीसँग १५ वर्ष लामो समयसम्म नेपाल बंगलादेश बैंकमा काम गरेको अनुभव छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ती पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।
व्यावसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा रहेर पनि कार्य गरिसकेका छन् ।
वित्तीय क्षेत्र र पूँजी बजारमा विशेष दख्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्युरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।