images

बेगनास तालमा साढे तीन सय डुङ्गा व्यवसायी, दैनिक ४/५ जनाले मात्रै पाउँछन् पर्यटक

गण्डकी । शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए । चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे ।

“यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै !”, पाण्डेले भने, “मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।” शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए ।

बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । “भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन”, पाण्डेले सुनाए, “अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चार/पाँच वटा चल्न पनि धौधौ छ ।”

स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । “सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ”, डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, “हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।” आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो ।

कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् । “पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ”, उनले भने, “डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।”

तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।

अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताए ।

“दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न”, उनले भने, “आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।”

शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाए । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र सुनसान भएको उनको भनाइ थियो ।

भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिए । टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताए ।

“पर्यटक आउन छाडेपछि तलब खान पनि धौ–धौ परिरहेको छ । अरु संस्था धान्ने त झन् टाढाको कुरा भयो”, भुजेलले भने, “कोभिड–१९ को बन्दाबन्दीपछि पर्यटक आउने क्रम घटेको घटै भयो । मुख्य पर्यटकीय याममा पनि बेगनास क्षेत्र सुनसान छ ।” आन्तरिक पर्यटक पनि आउन छोडेपछि बेगनासको पर्यटनलाई लिएर चिन्ता थपिएको उनले उल्लेख गरे ।

पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पोखरा सहर छेउमै भएर पनि बेगनास क्षेत्र ओझेलमा परेको बताए । “पर्यटन पूर्वाधार र प्रवद्र्धनका दृष्टिले बेगनास अझै पनि पछाडि छ”, उनले भने, “त्यसमाथि अहिलेको आर्थिक मन्दी, कमसल सडक तथा पूर्वाधारलगायत कारणले यहाँ पर्यटकीय चहलपहल कम भएको छ ।”

सात तालको बाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्ने वडाध्यक्ष कँडेलले जानकारी दिए । उनका अनुसार बेगनास नजिकै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास पुग्न सकिन्छ ।

फेवातालको बाराही र बेगनासमा रहेको बराहबीच साइनो रहेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष कँडेलले बताए । “बराह क्षेत्रको पुरातात्विक महत्व छ । यो सदियौँ पुरानो धार्मिकस्थल हो”, उनले भने, “यसप्रति अथाह विश्वास र जनआस्था गाँसिएको छ । यहाँ पुजा गरे कुनै दुर्घटना नहुने विश्वास गरिन्छ ।”

। रासस