images

त्रिभुवन विमानस्थलमा लगातार १०० भन्दा धेरै उडान, एकैदिन ११३ उडान, सामान्य समयभन्दा २३ बढी

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दाबढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन ११३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलवार पनि अन्तर्राष्ट्रियतर्फ ११० उडान हुँदैछन् । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

नेपालमा पर्यटकीय याम सुरु भएको र दसैँलगायत महत्त्वपूर्ण चाडपर्व पनि प्रारम्भ भएकाले विदेशबाट नेपाल आउनेको सङ्ख्या बढेको छ ।

आन्तरिकतर्फ पनि उडान चाप रहेको छ । दैनिक दुईतर्फी ३०० उडानबाट करिब १५ हजार यात्री आवतजावत गरिरहेका विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् । रासस