images

राष्ट्रपतिसमक्ष वनमन्त्रीको प्रतिबद्धता : ढुङ्गा गिटी निकासीसम्बन्धी व्यवस्था हटाउन पहल गर्छु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रहेको निकासीसम्बन्धी व्यवस्था हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलसँग शीतल निवासमा सोमबार भएको भेटमा पूर्वराष्ट्रपति डा.रामवरण यादवसहित विज्ञको टोलीले केही दिनअघि हाल गिटी, ढुङ्गा, बालुवा उत्खनन गरी निकासी गर्ने प्रस्तावित विधेयकका सम्बन्धमा गराएको ध्यानाकर्षणबारे जानकारी गराएपछि उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षणका लागि महत्त्वपूर्ण पहल थाल्न र तराई, मधेसलाई जोगाउन मन्त्री महतोलाई सुझाव दिएका थिए ।

उनले देशको अन्नभण्डार रहेको तराई, मधेसमा पानीको मुहान सुकेर चामल निर्यात गर्ने देशमा अर्बौंको चामल आयात गर्नुपर्ने अवस्थाबारे चिन्ता व्यक्त गर्दै चुरे संरक्षणका लागि एउटा भरपर्दो र गम्भीर निर्णय लिन आवश्यक भएकोतर्फ पनि मन्त्री महतोमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर उक्त विषयबारे ध्यानाकर्षण गराएका थिए ।

मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो । रासस