images

भाटभटेनीको दसैं अफर : २५ सयको सामान किन्नेलाई कार र ५०० को किन्नेलाई स्कुटर उपहार

काठमाडौं । भाटभटेनी सुपरमार्केटले चाडपर्व लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’ नामक किनमेल अफर घोषणा गरेको छ ।

दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा किनमेल गर्नेले यस्तो अफरमा सहभागी हुनसक्ने कम्पनीका प्रशासन प्रमुख पानु पौडेलले बताए ।

पौडेलकाअनुसार २ हजार ५ सय रुपैयाँ बराबरको सामान किन्दा टाटाको टिगोर जित्ने अवसर मिल्नेछ ।

‘आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने पहलको रूपमा कार्यक्रमलाई लिइएको छ,’ पौडेलले भने ,‘ग्राहकले २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर कार्यक्रममा सहभागी हुन पाउनेछन् । विजेताले टाटा टिगोर गाडी जित्नेछन् । अरु पनि उपहार योजना छन् ।’

यस्तै, सेञ्चुरी ब्राण्डको ५ सय रुपैयाँ बराबरको प्रडक्ट खरिद गर्दा सुजुकी अल्टो टेन कार जित्न सकिने छ ।

ग्राहकहरूले देशभरका भाटभटेनीका शाखामा गएर २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर प्रवेश टिकटमा आफ्नो विवरण भर्न सक्नेछन् । सेञ्चुरीको हकमा पनि तोकिएको ‘लक्की ड्र बक्स’ मा सो टिकट हाल्नु पर्नेछ ।

युनिलिभरको २ हजार रुपैयाँ बराबरको वस्तु खरिद गर्दा स्कुटर, वाशिङ मेसिन, आईफोन १३ प्रो म्याक्स वा लिड टिभी उपहार जित्न सकिने पौडेलले बताए ।

दूध बाहेकका सिताराम दूधको वस्तु खरिद गर्दा वासिङ मेसिन, फ्रिज, टिभी वा इण्डक्सन जित्न सकिने छ ।

कम्पनीले भाट भटेनीले चाडपर्व लक्षित अन्य छुट तथा सहुलियत अफर पनि घोषणा गरेको छ । जसअनुसार सबै प्रकारका गार्मेन्ट, फुटवेयर, सारी र कुर्ताको खरिदमा १५ प्रतिशत डिजिटल डिस्काउन्ट पाइनेछ । नगद भुक्तानीमा भने १० प्रतिशत छुट पाइने छ ।

ग्याँस स्टोभबाहेकका सबै प्रकारका विद्युतिय उपकरणमा ३२ प्रतिशत छुट पाइने छ । सन् २०२४ जनवरीको पहिला हप्ता सबै उपहारको ‘लक्की ड्र’ मार्फत विजेता ग्राहकको छनोट हुने पौडेलले बताए ।

कार्यक्रममा देशभर रहेका भाटभटेनीका २६ वटै आउटलेटमार्फत सहभागी हुन सकिने छ । यो योजना दसैँको घटस्थापना अर्थात असोजको २८ गतेदेखि पुस १५ गतेसम्म चल्नेछ ।