images

दसैंमा घर जाने यात्रुको स्वास्थ्य परीक्षण गर्दै महानगर प्रहरी, ‘पिउने पानीको पनि व्यवस्था’

काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो ।

महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेक्समार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए ।

हेल्थ डेक्समा काठमाडौँ महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उनले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए ।

यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ । रासस