images

यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कप

काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् र नेपाल १९ रनले विजयी भयो ।

नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।