images

दसैंभर दैनिक ५०० मेगावाट बिजुली खेर : प्राधिकरणलाई फरक परेन, निजी क्षेत्रको दसैं नै खल्लो

काठमाडौं । दसैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ ।

विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु दसैंमा बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताएका छन्।

‘दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट दैनिक करोडौं रुपैयाँ गुमाइरहेका छौं ।’

प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि भारतबाट स्वीकृति पाउनेमा विश्वस्त रहेको उनले बताए ।
तर स्वीकृति नपाएमा अझै विद्युत् खेर फाल्नुपर्ने उनको भनाइ छ ।