images

अमेरिका भ्रमणपछि चिनियाँ विदेश मन्त्रीले भने- ‘सी-बाइडेन भेटघाटको बाटो ‘सहज’ छैन’

वासिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज नभएको’ बताएको चिनयाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले बताएको छ ।

यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरेका थिए । शुक्रबार दुवै पक्ष आगामी महिना नेताहरूबीच एउटा बैठक आयोजना गर्न सहमत भएका थिए ।

दुवै शक्तिराष्ट्र बीच तनावपूर्ण सम्बन्धको समयमा अमेरिकी राष्ट्रपति बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग लिन आफ्ना चिनियाँ समकक्षी सीलाई सान फ्रान्सिस्कोमा आमन्त्रण गरेका छन् । अमेरिका जाने बारेमा राष्ट्रपति सीले अहिलेसम्म पुष्टि गरेका छैनन् ।

सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले शनिबार वासिङ्टनमा एस्पेन स्ट्राटिजी ग्रुपद्वारा आयोजित कार्यक्रममा भने, “दुवै पक्षले चाँडोभन्दा चाँडो द्विपक्षीय सम्बन्धलाई स्थिर र सुधार गर्ने आशा गरेका छन् र दुवै राष्ट्र प्रमुखबीच सान फ्रान्सिस्को शिखर सम्मेलनमा सँगै मिलेर काम गर्न सहमत भएका छन् ।”

सिन्ह्वाका अनुसार वाङले चेतावनी दिँदै भन्नुभयो, “सान फ्रान्सिस्को मार्ग सहज छैन र यसलाई ‘अटोपाइलट’ का भरमा छोड्न सकिँदैन ।” सन् २०२२ नोभेम्बरमा बालीमा भएको भेटयता बाइडेन र सिबीच कुनै सम्पर्क भएको छैन ।

दुवै मुलुक एसिया–प्रशान्त क्षेत्र र त्योभन्दा बाहिरको प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको र बेइजिङले अमेरिकी प्रभूत्वलाई कम गर्न रुससँग सहयोग बढाइरहेकाले विश्वका दुई शीर्ष अर्थतन्त्र मुलुकबीच वर्षौँदेखि सम्बन्ध तनावपूर्ण रहेको छ ।

सिन्ह्वाका अनुसार वाङले शनिबार दुवै पक्षले हस्तक्षेप अन्त्य गर्न, अवरोधहरू हटाउन र आम सहमति बढाएर परिणाम हासिल गर्नुपर्ने बताएका थिए । रासस/सिन्ह्वा