images

गुणस्तरहीन काम भएको उजुरीपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारको छापा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

निर्माणकै चरणमा रहेको र एक वर्ष अघिदेखि सञ्चालनमा आएको विमानस्थलको निर्माणमा कमसल काम गरेको उजुरी परेपछि अख्तियारको प्राविधिकसहितको उच्चस्तरीय टोली पोखरा गइ अनुसन्धान गरेर फर्किएको छ ।

विमानस्थलमा दसैँअघि नै छापा मारिए पनि अहिलेसम्म सूचना सार्वजनिक भएको थिएन ।

विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले पनि अख्तियारले केही फाइल हेरेको पुष्टि गरेका छन् ।

विमानस्थल गत अंग्रेजी नयाँ वर्षदेखि उदघाटन भएर सञ्चालनमा आइसकेको छ । तर अहिलेसम्म सम्झौता अनुसारको काम सकिएको छैन । केही समयअघि विमानस्थलभित्र चुहिने समस्या र निर्माण सामाग्री कमसल प्रयोग गरेको प्रचार सामाजिक सञ्जालमा भएको थियो । यसबारे संघीय संसदमा पनि आवाज उठेको थियो ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल निर्माण भएको हो । एक्जिम बैंकले विमानस्थल बनाउन २१ करोड २९ लाख अमेरिकी डलर नेपाल सरकारलाई दिएको छ । त्यसमध्ये २० प्रतिशत अनुदान र बाँकी ८० प्रतिशत रकम २ प्रतिशत ब्याजमा दिइएको हो ।

उक्त ऋणको दुई किस्ता रकम नेपाल सरकारले एक्जिम बैंकलाई पठाइसकेको छ । बैंकलाई प्रत्येक ६ महिनामा ८५ करोडका दरले किस्ता बुझाउनुपर्छ । तर हालसम्म विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।