images

आर्थिक संकटले सिमेन्ट उद्योग बन्द, सहयोगका लागि सरकारसँग आग्रह

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारण समयमा कोइला खरिद गर्न नसक्दा उत्पादन नै बन्द गरेको छ ।

सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए ।

उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको बताए ।

आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उनले बताए ।

कूल तीन लाख बोरा सिमेन्ट काठमाडौँलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिदमा लगाइने उद्योगले जनाएको छ ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ ।

कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए ।

विसं २०३३ मा लामसुरेमा स्थापित सो उद्योगले विसं २०४३ साल मङ्सिर २६ गतेबाट व्यावसायिकरुपमा उत्पादन सुरु गरेको थियो ।

उद्योगमा हाल करिब ४०० कर्मचारी कार्यरत छन् । रासस