images

मेसीले जिते आठौं पटक बालोन डे’ओर अवार्ड, महिलातर्फ स्पेनकी आइतामा वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले कीर्तिमानी आठौं पटक बालोन डे’ओर अवार्ड जितेका छन् ।

गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहका बीच अवार्ड जितेका हुन् ।

मेसील म्यानचेष्टर सिटीका एर्लिङ हालान्डलाई पछि पार्दै आठौँ पटक अवार्ड जिते ।

फ्रान्स फुटबले प्रदान गर्ने यो अवार्ड मेसीले २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०१०, २०११ र २०१२ मा गरी लगातार चार पटक अवार्ड जिते । उनले २०१५, २०१९ र २०२१ मा पनि उक्त अवार्ड जितेका थिए ।

यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर अइतामा बोनमाटीले वर्ष खेलाडीको अवार्ड जितिन् । २५ वर्षीय बोनमाटीकै कप्तानीमा स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो । उनले पहिलो पटक यो अवार्ड जितेकी हुन् ।

विश्वका १०० खेलकुद पत्रकारहरुले गरेको मतका आधारमा वर्षको उत्कृष्ट खेलाडीलाई बालोन डे’ओर अवार्ड प्रदान गरिन्छ ।

नर्वेका फरवार्ड हालान्डले गत सिजन प्रिमियर लिगमा ३५ खेलमा कीर्तिमानी ३६ गोल गर्नुका साथै सिटीबाट लिगसहित च्याम्पियन्स लिग र एफ ए कप गरी ३/३ उपाधि जितेका थिए । उनको उक्त उपलब्धिका लागि हालान्डलाई गर्ड मुलर ट्रफी प्रदान गरिएको छ ।

उनले गत सिजन सबै खाले प्रतियोगितामा ५२ गोल गरेका थिए । हालान्डले अवार्ड पाएपछि सिटी क्लब र परिवारलाई धन्यवाद दिएका छन् ।

इंग्लयाण्ड तथा रियल मड्रिडका मिडफिल्डर जुड बेलिङघमले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते ।

२१ वर्षमुनिका उत्कृष्ट युवा खेलाडीलाई दिइने कोपा ट्रफी बेलिङघमले पाए । यसै सिजन बोरुसिया डर्टमण्डबाट रियल पुगेका उनले १३ खेलमा १३ गोल गरिसकेका छन् । डर्टमण्डमा गत सिजन उनले ४२ खेलमा १४ गोल गरेका थिए ।

यसैगरी अर्जेन्टिनाका विश्व विजेता गोलकिपर इमिलियानो मार्टिनजेले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।मार्टिनेजले कतार विश्वकपकमा गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका थिए ।

म्यानचेष्टर सिटीले क्लब अफ दि इअरको अवार्ड जितेक‍ो छ । महिलातर्फ बार्सिलोनाले क्लब अफ दी इअरको अवार्ड पायो ।

विश्व फुटबलमा रेसिजम (जातीय भेदभाव) विरुद्ध बोल्दै आएका ब्राजिलियन तथा रियल मड्रिडका विगंर भिनिसिय जुनियरले मैदान बाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरेका छन् । एजेन्सी