images

टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि घरेलु टोली नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र ओमान आइतबार टियू मैदान कीर्तिपुरमा भिड्दै छन् ।

विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान बीच खेल हुँदा नेपाललाई समूह चरणको हारको बदला लिने अवसर छ ।

खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष ओमानमै भएको टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए ।

२०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो ।