images

जाजरकोट भूकम्प : करिब ४ हजार घरमा क्षति, ‘१ हजार घर पूर्णरूपमा क्षतिग्रस्त’

काठमाडौं । जाजरकोट भूकम्पमा करिब ४ हजार घरमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गर्दै करिब ४ हजार घरमा क्षति पुग्दा करिब १ हजार घर पूर्णरूपमा क्षति भएको जनाएको हो ।

गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ ।

त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।

त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।

सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व, बैतडी र दैलेखमा १/१ घर क्षतिग्रस्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३/३ जना छन् ।

क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाइ छ ।

सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परितालन गरिएका छन् ।