images

१६ औं योजना बनाउन ७ प्रदेशमा योजना आयोगका ७ टोली परिचालन, कर्णालीको अन्तरक्रिया सर्‍यो

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ ।

सातै प्रदेशमा जाने योजनाअनुरुप आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।

कर्णाली प्रदेशमा भने प्राकृतिक विपत्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।

आयोगले आज सोमबार मधेश प्रदेश सहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।

आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ ।

कुन प्रदेशमा कसको नेतृत्व ?

आयोगका प्रवक्ता एवम् सहसचिव भुसालका अनुसार कात्तिक २० र २१ गते बागमती प्रदेशको हेटौंडा, मधेश प्रदेशको जनकपुर र गण्डकीको पोखरा र सुदूरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ ।

यसका लागि आयोगका सदस्यहरु कोशी डा. प्रभु बुढाथोकी, मधेशमा डा. जयकान्त राउत, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदूरपश्चिममा डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ ।

यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर अनि लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यी दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए ।

प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औं पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।