images

युरोप भ्रमण छाडेर जाजरकोट र रुकुम पश्चिम जाने राष्ट्रपतिको निर्णय

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल युरोप भ्रमण रद्ध गरेर भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

राष्ट्रपति पौडेल आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेल कात्तिक २३ देखि फ्रान्स, इटली र जर्मनीको भ्रमणमा जाने कार्यक्रम थियो ।

मन्त्रिपरिषदको गत कात्तिक १६ गतेको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

नेपाल र नेपाली जनताको निम्ती भ्रमण महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण रद्ध गरेका हुन् ।