images

कुखुराको मूल्य किलोमै ५० रुपैयाँ घट्यो, तयारी मासु ३०० रुपैयाँसम्म आउन सक्ने !

काठमाडौं । दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन् ।

कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो ।

संघका अनुसार बजारमा कुखुराको उत्पादन धेरै र खपत कम भएपछि मूल्य घट्न थालेको हो।

संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो । त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो ।

१६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ । सो मूल्य २१ गते बिहानदेखि लागू भइसकेको छ ।

जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने संघको भनाइ छ ।
अब बजारमा तयारी मासुको मूल्य प्रतिकिलो ३०० देखि ३२० रुपैयाँसम्ममा आउन सक्ने संघको अनुमान छ ।