images

बोरा गोदाममा आगलागी हुँदा २ लाख बोरा जलेर नष्ट, ४० लाख बराबरकोको क्षति

बाँके । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित एसके ट्रेडिङको बोरा गोदाममा गए राति आगलागी भएको हो ।

राति करिब १२ बजेतिर लागेको आगो आज बिहानमात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

उनका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब रु ४० लाखबराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताए ।

उनका अनुसार गोदामभित्र रहेको ५० हजार ठूलो बोरा, ४५ हजार थान जुटको बोरा, ५० हजार कट्टा बोरा, केही प्लाष्टिक बोरी र काठ जलेर नष्ट भएको छ ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरी प्रवक्ता डाँगीले बताए । दुईवटा बारुणयन्त्र, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस