images

लप्सीफेदीमा प्रहरीलाई आक्रमण गर्दा पक्राउ परेका सबै जना रिहा, आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीलाई आक्रमण गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका अनुसार शनिबार राति उनीहरू सबैलाई छाडिएको छ ।

स्थानीयहरुले भने प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् । बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका सबै जना रिहा भए पनि सवस्टेसन निर्माणमा अवरोध नहुने कुराको ग्यारेन्टी हुन सकेको छैन । प्राधिकरणले कसरी काम अघि बढाउने भन्ने द्विविधा कायमै छ ।