images

नेपाल सरकार र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि आज (शुक्रवार) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

‘सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ । सार्वजनिक वित्तको पुनःसंरचनासँगै वित्तीय सङ्घीयता कार्यान्वयनका लागि यो कार्यक्रमबाट मद्दत पुग्नेछ’, सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव पुष्करले भने, ‘चालु आर्थिक वर्षको बजेटबाट पनि सरकारले सुधारका विभिन्न कार्यक्रमहरूमार्फत सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहलाई बलियो बनाउन खोजेको छ ।’

एडीबीका देशीय निर्देशक काओसिसले नेपालको वित्त प्रणालीलाई दिगो बनाउन र सरकारका आवधिक योजनालाई बढी प्रभावकारी बनाउन यो कार्यक्रमले सघाउने बताए । ‘सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको देश बनाउन तय गरिने मध्यमकालीन र दीर्घकालीन राष्ट्रिय योजनासँग यो कार्यक्रम जोडिएको छ’, उनले भने।

तीन वटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्‍याउने ठानिएको छ ।