images

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ ।

यो मूल्य हाल सम्मकै उच्च हो । यसअघि गत मंसिर ६ गते डलरको भाउ १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६७ पैसा पाइन्छ । भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि सस्तिएको हो । सोमबार ८३.२५ देखि ८३.३५ पैसासम्ममा कारोबार भएको भारतीय रुपैयाँ आज ८३.३७ रुपैयाँ पुगेको छ । विदेशी पैसा बाहिर गएका कारण भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा आयात बढिरहेको छ । आयात बढ्दा विदेशी मुद्राको सञ्चिति घट्छ । परिणामतः डलरको माग बढेर भारु कमजोर भएको हो । नेपाली र भारतीय मुद्राबीच स्थिर विनियम दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।

डलरको मूल्य बढ्दा सामान आयात गर्न महँगो पर्ने हुन्छ । निर्यात उच्च दरमा बढाउन सक्ने हो भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ । तर, उत्पादन बढ्न नसक्दा आयातमा चाप बढ्दो छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात भएको छ भने १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । त्यस्तै चालु आवको साउनदेखि असोजसम्ममा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ भने ४० अर्ब ८७ करोड रुपैयाँको मात्र निर्यात भएको छ । निर्यात कमजोर भएका कारण डलरको मूल्य बढ्दा नेपाललाई बढी नोक्सानी हुन्छ ।

नेपाली अधिकांश उद्योग पनि विदेशी कच्चापदार्थमा आधारित छन् । विदेशबाटै कच्चा पदार्थ ल्याएर सामान उत्पादन गर्नुपर्दा उत्पादित सामानको मूल्य बढी पर्छ । त्यसको भार उपभोक्तामा पर्नेछ ।