images

चार लाख ६६ हजार बढी श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध

काठमाडौं । वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार भन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।गत चैत ८ गतेदेखि हालसम्म ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको छ । सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ । वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ । तर, वैदेशिक रोजगारमा रही विदेशबाटै योगदान गर्नेको हकमा ९० प्रतिशतको निरन्तरता रहेको कोषका सह प्रवक्ता रोहित रेग्मीले बताएका छन् । वैदेशिक रोजगारमा रहेर कोषमा योगदान गर्दै आएका तीन जनाको मृत्यु भइसकेको कोषले जनाएको छ ।

तर उनीहरूको कोषबाट पाउने सुविधा भने नपाउने सह प्रवक्ता रेग्मीले बताए । कोषले सोमबार आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सव मनाउँदै छ । त्यसको पूर्व सन्ध्यामा कोषले आफ्नो प्रगती विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता छन् । १८ हजार ४३९ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

कोषमा हालसम्म ४४ अर्ब ८५ करोड रकम जम्मा भएको छ । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ । हालसम्म ९२६ जनाले कोषबाट कर्जा लिएका छन् । जसमा स्पेसल कर्जा, घर कर्जा र शैक्षिक कर्जा रहेको कोषले जनाएको छ । कोषले आर्थिक वर्ष २०७९–०८० सम्ममा ३० हजार रोजगारदाता सूचीकृत गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म १८ हजार ३९ रोजगारदाता सूचीकृत भएका छन् ।