images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बजेट कटौती गरेपछि एमाले र राप्रपाको विरोध

काठमाडौं। मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती गरेपछि नेकपा एमाले र राप्रपाले विरोध जनाएको छ । प्रदेशसभाको मंगलबारको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

त्यसपछि बैठकमा बोल्न समय पाएका एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएको भन्दै आपत्ति जनाए । मुख्यमन्त्रीसँग प्रत्येक सांसदले छनोट गरेको योजनाका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन गर्ने सहमति भएकोमा कसैको १ करोडभन्दा कम, कसैको एक करोड र कसैको एक करोड भन्दा केही बढीका योजना मात्र बजेटमा परेको बताए ।

मुख्यमन्त्री कार्कीले शनिबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल भइरहेको छ । सोमबार पनि प्रदेशसभा बैठकमा बोल्ने एमाले सांसदहरुले योजना कटौती गरेको भन्दै कार्कीको विरोध गरेका थिए । मुख्यमन्त्री कार्कीले पुराना योजनालाई यथावत् राख्ने, निर्वाचन क्षेत्र विकासका लागि भनेर छुट्याएको एकमुष्ठ डेढ अर्ब बजेटलाई प्रत्यक्ष सांसदका लागि डेढ करोडको योजना राख्ने र बजेटको आकार ५० करोड बढाउने वचन दिएको एमालेको दाबी छ ।