images

तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं। तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको पहिलो बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले लगानी सम्मेलनलाई प्रतिफलमुखी बनाउन गर्नुपर्ने पूर्वतयारीबारे छलफल गरेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।

सम्मेलन अघि पनि विभिन्न कार्यक्रम गर्ने तथा सम्मेलनबारे प्रचार–प्रसारका कामलाई कसरी लैजाने भनेर पनि छलफल भएको अधिकारीले जानकारी दिए ।

आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । लगानी सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने गरी निर्देशक समिति गठन भएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीनवटा सङ्गठित संस्थाका अध्यक्ष सदस्य छन् ।

मुख्यसचिवको संयोजकत्वमा विषयगत समिति, मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहने गरी कार्यान्वयन समिति बनाइएको छ ।