images

माथिल्लो अरुण र दुधकोशी आयोजनामा एडिबी र विश्व बैंकबीच सहकार्य हुने

काठमाडौं । प्रस्तावित माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना विकासका लागि एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबीच सहकार्य हुने भएको छ ।यसका लागि यी दुई बैंकले समझदारीपत्रमा बुधबार हस्ताक्षर (एमओयू) गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २८) चलिरहँदा एसियाली विकास बैंककी उपाध्यक्ष फात्तिमा यस्मिन र विश्व बैंकको दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेसरले एमओयूमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार यी संस्थाले उल्लिखित आयोजना विकासका लागि आगामी पाँच वर्षसँगै काम गर्ने छन् ।

विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेसरले नेपाल सरकार, साझेदार संस्थाहरू तथा निजी क्षेत्रको आपसी सहकार्यबिना नेपालका ठूला जलविद्युत परियोजनाको प्रचुर सम्भावनाको पूर्ण उपयोग हुन नसक्ने बताएका छन् । यसकारण पनि ठूला आयोजना निर्माणका लागि निजी क्षेत्र र दातृ निकायको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।