images

नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक

काठमाडौं। मौद्रीक नीतिको समीक्षालाई सेयर बजारले न्यानो स्वागत गरेको छ । बजार खुले लगत्तै उच्च गतीमा बढेको नेप्से ६ प्रतिशतले बढेपछि नियमित समयभन्दा अघि नै कारोबार बन्द भयो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा करिब ९ मिनेट मात्रै कारोबार भयो ।

नेपाल राष्ट्रबैंकले मैद्रीक नीतिको समीक्षामार्फत लचकता अपनाएपछि सेयर लगानीकर्ताहरु हौसिएका छन् । जसका कारण आइतबार बजारमा चमक देखियो । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो ।

११ बजेर २५ मिनेटमा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ बेजेर ७ मिनेटमा सुरु भएको कारोबार पनि २ मिनेटभन्दा बढी चल्न सकेन । नेप्से ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र दिनभरका लागि कारोबार बन्द भयो ।

करिब ९ मिनेट भएको कारोबारमा नेप्से १ सय ११ अंकले बढेर १९ बिन्दुमा उक्लिएको छ । छोटो अवधिका पनि ४८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । जलविद्युत् समूह सबैभन्दा धेरै ८ दशमलव ६ प्रतिशत बढेको छ ।

त्यस्तै होटल तथा पर्यटन समूह ६ दशमलव ७, बैंकिङ ५ दशमलव ६, विकास बैंक ६ दशमलव ५, फाइनान्स ६ दशमलव ५, लगानी ६ दशमलव ४ प्रतिशत बढेका छन् । त्यस्तै जीवन बीमा ५ दशमलव ३, माइक्रोफाइनान्स ५ दशमलव ६, उत्पादन ४ दशमलव ८, निर्जीवन बीमा ५ दशमलव २, अन्य ४ दशमलव ५ र ब्यापार उपसमूह ५ दशलमव ८ प्रतिशतले बढेका छन् । बजारमा १३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य दुई दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएका २२४ स्टकहरुमध्ये ५ स्टकको मात्र मूल्य घटेको छ भने २ स्टकको मूल्य स्थिर रहेको छ ।

शुक्रबार राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ । समीक्षामा ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतलाई १२५ प्रतिशतमा झारिएको छ। साथै, समीक्षाले बैंकहरुको ब्याजदर घटाउने दबाब छ ।

बैंकहरुमा अधिक तरलता रहेको बेला ब्याजदर घट्दै जानु र कर्जाको जोखिम भार घटाउनु लगानीकर्ताले सकारात्मक रुपमा लिएको देखिन्छ । बैंकहरुले प्रिमियममा छुट दिएर कर्जा प्रवाह गर्न थालेको अवस्थामा घटेको जोखिम भारले लगानीकर्ताको मनोबल बढाएको छ। शेयर बजारको बृद्धि केही दिनसम्म कायम रहने विश्लेषकहरुको बुझाइ छ ।