images

एनसेल प्रकरणमाथि संसदीय समितिमा पुस ३ गते छलफल गरिने

काठमाडौं। एनसेलको सेयर खरिद विक्री प्रकरणमाथि संसदीय समितिमा पुस ३ गते छलफल हुने भएको छ। एनसेल प्रकरणमाथि छलफल गर्न संघीय संसद्‌को राज्यव्यवस्था समितिले पुस ३ गते बैठक बोलाएको हो।

नेकपा (एमाले)का सांसदहरू मध्यपहाडी लोकमार्ग यात्राका गएका कारण उपस्थित हुन नसक्ने भएपछि बैठक ३ गते बस्ने भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

गत बुधबार संसद्‌को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भएको भन्दै अनुसन्धान नटुंगियुन्जेल खरीदबिक्री सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो।

त्यसैगरी गत बिहीबार एनसेलको शेयर खरीदबिक्री विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले अल्पकालीन आदेश मार्फत किनबेच भएका शेयर दर्तामा रोक लगाएको थियो।

सरकारले एनसेलको प्रकरण अध्ययन गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति समेत समेत गठन गरेको छ।