काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ ।
दशरथ रंगशालामा साँझ ५ बजे हुने खेल एनएसएलकै ५० औं खेल भएकाले टिकटमा ५० प्रतिशत छुट दिइएको छ । बिहीबार भएको खेलमा धनगढी फुटबल क्लब अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
धनगढीले चितवनलाई १–० ले पराजित गर्यो । खेलको दोस्रो मिनेटमा ओलावाले आफिजले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । पहिलो हाफकै इन्ज्युरी समयमा चितवनले बराबरी गर्न पेनाल्टीको अवसर पाएको थियो । तर विमल घर्ती मगरको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाएर अग्रता कायम राखे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न सकेनन् ।
यस जितले धनगढी ५ खेलमा ३ जित र २ बराबरीका साथ ११ अंक जोड्दै शीर्षस्थानमा छ । चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा कायम छ ।
यस हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना पातलिएको छ ।