images

जनकपुरमा सीताराम विवाहपञ्चमी मनाइदै,मधेश प्रदेशमा सार्वजनिक विदा

काठमाडौ। जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा आजको दिन जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।

आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा दिएको हो ।