काठमाडौं। प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ ।
मुलपानी मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित सर्वाधिक ४९ रन बनाइन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । सुदूरपश्चिमकी इश्वरी विष्टले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
मुलपानी मैदानमा भएको अर्को खेलमा कोसी प्रदेशले कर्णालीलाई १० विकेटले हरायो । १६ ओभरमा छोट्याइएको खेलमा कोशीले उत्कृष्ट बलिङ गर्दै कर्णालीलाई ३३ रनमै अलआउट गर्यो । कर्णालीका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ३४ रनको झिनो लक्ष्य कोसीले ३ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । कप्तान रुविना क्षेत्री २५ रन र काजल श्रेष्ठले ५ रनमा अविजित रहँदै सहज जित दिलाए ।
त्रिवि मैदानमा भएको उद्घाटन खेलमा भने बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गयो । ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनायो । बागमतीका पूजा महतोले ३५ तथा अनुराधा चौधरीले २१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
त्रिवि मैदानमै भएको अर्को खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको हो। गण्डकीले दिएको एक सय १ सय ३ रनको लक्ष्य लुम्बिनीले १७ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । ओपनर लक्ष्मी चौधरीले सर्वाधिक ४२ रन जोड्दै लुम्बिनीको जितको आधार तय गरिन् । कप्तान सरस्वती जिएमले १२ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा चार विकेट गुमाएर १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टोली सहभागी छन् ।