काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चौथो हार बेहोरेको छ ।
सोमवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भएको हो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सकेको थियो ।
कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले नट आउट ५३ रन बनाइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु, रश्मी खड्का र तृसना विश्वकर्माले समान १ विकेट लिइन् । कर्णालीको ४ खेल हार्दै तालिकाको पुछारमा छ । लुम्बिनी ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।
यस्तै, अर्को खेलमा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । मधेसको जितमा पूजा महतोले ’अलराउन्ड’ प्रदर्शन गरिन् । सोमवार नै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हराएको हो । मधेसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो ।
गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले ३ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाउन सफल भएको थियो ।
मधेसका लागि पूजा महतोले ३८ र सरस्वती कुमारीले नट आउट २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् । योसँगै मधेसले लगातार हारको शृङ्खला तोडेको छ । यसअघिका ३ खेलमै पराजित भएको मधेस यो जितसँगै ४ खेलमा २ अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अङ्कसहित छैटौँ स्थानमा छ ।