काठमाडौं । दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाण्डौ र ललितपुरबीचको खेल हुँदैछ । यस्तै दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । एनएसएलको फाइनल खेल शनिवार हुँदैछ । सोमबारको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो । धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डौ रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १–१ गोल गर्दै खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो ।
यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्काे मौका पाउनेछ । अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाण्डौ रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ ।