images

पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं घरजग्गा मेला हुने भएको छ ।भृकुटीमण्डपमा पुस १२ गतेबाट १५ गतेसम्म आठौं घरजग्गा मेला आयोजना गर्न लागिएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।

मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री पनि प्रदर्शनमा राखिने नेपाल जग्गा तथा आवास विकास संघ अध्यक्ष विदुर धमलाले जानकारी दिए ।

मेलामा यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने विश्वास गरिएको छ ।