images

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि ओरालो

काठमाडौं । सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो कारोबार दिन पनि घटेको छ । गत साताको बिहीबारदेखि घट्न थालेको नेप्से बुधबार पनि घटेर बजार बन्द भएको हो । बुधबार नेप्से परिसूचक १७ दशमलव २३ अंक घटेर २ हजार ७० दशमलव ८४ विन्दुमा झरेको छ ।

त्यसैगरी सेन्सेटिभ इण्डेक्स ४ दशमलव २५ अंक र फ्लोट इण्डेक्स ० दशमलव ४३ अंक घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ३ सय ७ स्टकको १ लाख १७ हजार ४ सय ७६ पटकको कारोबारमा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से घटेपनि नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग, भिजन लुम्बिनी उर्जा र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।