काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्ने भएका छन् । प्रतियोगिताको दोस्रो क्वालिफायरमा ललितपुर र पोखरा भिड्न लागेका हुन् । विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार इलिमिनेटरमा काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै ललितपुरले पोखरासँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित बनेको पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो । लिग चरणमा खासै चल्न नसकेको ललितपुरले इलिमिनेटरमा काठमाडौंविरुद्ध शानदार जित निकाल्यो । कागजमा बलियो देखिएको ललितपुरको वास्तविक खेल मंगलबार देखिएको थियो । प्रतियोगितामा अघि बढ्न ललितपुरले खोजिरहेको ’ब्रेक थ्रु’ मंगलबार निस्किएको छ ।
पोखरा यस सिजन एनएसएलमा शानदार देखियो । उसले शीर्ष स्थानमा रहेर लिग टुङ्गयाएको थियो । तर क्वालिफायरमा उसले चाहे जस्तो नतिजा निस्किएन । निर्धारित र अतिरिक्त समयमा लिएको अग्रता मात्र उसले जोगाउन सकेन, पेनाल्टी सुटआउटमा समेत उसले अग्रतालाई गुमाएको थियो । टिम गेममा राम्रो देखिएको पोखरालाई एनएसएलको उपाधि दाबेदार टिमको रुपमा हेरिएको छ ।
यसैगरी प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले बुधवार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिको रकम दोब्बरले बढाएर ७० लाख रुपैयाँ पु¥याइएको जानकारी दिए । पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । यस्तै उपविजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध निर्देशक कार्कीले बताए । दोस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुँदैछ ।