images

ज्ञापनपत्र बुझाउन गएका मिटरव्याज पीडितहरुमाथि प्रहरीद्वारा लाठीचार्ज र अश्रु ग्याँस प्रहार

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाही आज दिनभरी तनावग्रस्त बनेको छ।बिहिबार दिउँसो प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापनपत्र बुझाउन गएका मिटरव्याज पीडितमाथि प्रहरीले दमन गरेको हाे ।

अनुचित लेनदेन मुद्धाका पीडित मिटर व्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समितिका सदस्यहरु ज्ञापनपत्र बुझाउन गएकाहरुमाथि प्रहरीले लाठीचार्ज गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

ज्ञापनपत्र बुझाउन गएका संघर्ष समितिका सदस्यहरु एकघण्टा भन्दा बढीसम्म प्रमुख जिल्ला अधिकारी धमलालाई कुर्दा समेत उनी ज्ञापनपत्र बुझ्न नआएपछि उनीहरुले प्रजिअ विरुद्ध कार्यालय परिसर भित्रै नाराबाजी गरेका थिए ।

नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरूलाई कार्यालय परिसरबाट बाहिर पठाउन बल प्रयोग गरेको थियो । पीडित र प्रहरीहरुबीच झडपको अवस्था हुँदा प्रहरीले पीडितहरुमाथि लाठ्ठी चार्ज गर्दै आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेकाे थियाे।

प्रहरीले गरेको लाठीचार्जबाट करिब १ दर्जन भन्दा बढी महिलाहरु घाईते भएका छन्। घाईतहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ ।

पीडितहरुले न्याय माग्न आउँदा आफुहरुलाई कुटपिट गरेको भन्दै प्रशासन कार्यालयको मुख्य गेटमा ताला बन्दी गरि टायर बालेर प्रदर्शन गरेका छन्।

मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति सर्लाहीका सदस्य गायत्री मिश्राका अनुसार नेपाल सरकारबाट मिटर व्याज पीडितको लागि कानुन बनेर आइसकेपछि पनि पीडितहरुले न्याय नपाइरहेको अवस्थामा संघर्ष समिति गठन गरेर आन्दोनमा उत्रिनु परेको गुनासो गरेका छन।

सर्लाहीमा मिटर ब्याज सम्बन्धी अनुचित लेनदेनको ३१ सय उजुरी दर्ता भएकोमा हाल सम्म मात्र ६ सय उजुरीहरु माथि छलफल गरि मिलापत्र भएको छ भने २५ सय भन्दा बढि उजुरीहरु माथि छलफल गरि फर्छयौट हुन बाँकी रहेको छ।