images

धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पति छानविन गर्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि निर्देशन दिएको छ ।

लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार बोर्डका अध्यक्ष हमाललाई बोलाए पनि उनी अनुपस्थिति भए । विना जानकारी हमाल बैठकमा अनुपस्थित भएको भन्दै समितिले खेद प्रकट गरेको छ ।

उनको अनुपस्थितिमा बोर्डबाट कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ बैठकमा उपस्थित भएका थिए । बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रिमियममा जारी भएका आईपीओका सम्बन्धमा अध्ययन गर्नु पर्ने भन्दै बोर्ड अध्यक्षको कार्यशैलीको चर्को आलोचना गरे ।

प्रिमियममा शेयर निष्कासन विषयलाई लिएर बैठकमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका पदाधिकारीबीच आरोप प्रत्यारोप चल्यो । धितोपत्र बोर्डको तर्फबाट प्रतिनिधित्व गरेका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रिमियममा प्राथमिक शेयर निष्कासन गर्दा लाभकर छली हुने विषय मिथ्या रहेको दाबी गरे ।

प्रिमियममा शेयर निष्कासन गर्ने विषयमा आफूले कुनै निर्णय नगर्ने भन्दै बिमा प्राधिकरणका अध्यक्ष सिलवाल भने पन्छिए । उनले कम्पनी ऐनको दफा २९ को हवाला दिँदै प्राधिकरणले बिमा कम्पनीहरूलाई शेयर निष्कासनको शैदान्तिक अनुमति दिने तर के कति मूल्यमा शेयर निष्कासन गर्ने दिने भन्ने विषय बोर्डकै निर्णयमा भर पर्ने तर्क गरे ।