images

गर्भनर अधिकारी विरुद्धको रिट माथि आज सुनुवाई हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिकारीको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । कानून अनुसार उनको योग्यता नपुग्ने भन्दै रिट निवेदनमा कानून व्यवसायीहरुले उनलाई पदमुक्त गर्न माग गरेका छन् । महाप्रसाद अधिकारीलाई सरकारले २४ चैत, २०७६ मा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा गभर्नरको योग्यता सम्बन्धी व्यवस्था छ ।

उक्त दफामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानूनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ । भारतमा चार्टर्ड एकाउन्टेण्ड पढेर आएका अधिकारीले अरु कुनै पनि विषयमा स्नातकोत्तर नगरेको रिट निवेदनमा जिकिर गरिएको छ ।

गभर्नर अधिकारीले एउटा मुद्दामा आफूले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सरहको समकक्षता लिएको जिकिर गरेका थिए । ऐनमा स्नातकोत्तर तह उत्तीर्ण भएकै हुनुपर्ने सर्त तोकेकाले समकक्षताको भरमा योग्यता नपुग्ने कानून व्यवसायीहरुको जिकिर छ ।