images

बालकुमारी घटनाका पीडित परिवारले भेटे प्रधानमन्त्री प्रचण्डलाई, दोषिलाई कार्बाही गर्ने आश्वासन

काठमाडौं । ललिपुरको बालकुमारीमा प्रहरीको गोलि लागेर निधन भएका पीडित परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । गत शुक्रबार इपीएस परिक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको थियो ।

पीडितका परिवारले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दोषिमाथि कडा कार्बाही नहुँदासम्म शव नबुझ्ने चेतावनी दिएका थिए। पीडित परिवारहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाका दोषिलाई कार्बाही गरेरै छोड्ने प्रतिवद्धता जाहेर गरे।

पीडित परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको बताए। पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउनेबित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको बताएका थिए।

उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए। ‘छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने।