images

बालकुमारी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौै । सत्तारुढ गठबन्धन दलबीच गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान जाने गरि भएको घटनाबारे छानबिन गर्नको उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।

घटनाको विषयमा छानबिन गर्न यसअघि गृहमन्त्रालयले नेपाल प्रहरीका डीआईजीपीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, निष्पक्ष अनुसन्धान नहुने भन्दै कांग्रेसले समितिमाथि प्रश्न उठाइएपछि छुट्टै छानबिन आयोग गठन गर्ने गरि सहमति भएको हो ।

घटनाको छानबिन गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा ९२० बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्‍त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भोलि बस्ने मन्त्रिपरिषद्‍को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने भएकाले त्यहीअनुसार प्रस्ताव ल्याउन प्रधानमन्त्रीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।