images

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीचबीच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमति अनुसार दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । विहिबार बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरेका हुन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा सम्झौता गर्ने विषयमा सहमति भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीन रूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएकोसमेत बताएका थिए ।