images

नेपाली युवा टाेली र चीनीयाँ टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली युवा टोलीले चीनको चिङहाइ प्रदेशको युवा टोली विरुद्ध मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।

माघ २७ गते दशरथ रंगशालामा दिनको ३ बजे खेल हुने एन्फाले जनाएको छ । नेपालमा सन् २०२४ चिनियाँ नयाँ वर्ष मनाउने क्रममा नेपाली युवा फुटबल टोलीले सो खेल खेल्ने छ ।

नेपालस्थित चीनको दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । मैत्रीपूर्ण खेलको आयोजक अखिल नेपाल फुटबल संघ र नेपाल ओभरसिज चाइनिज एसोसिएसन रहने छन् ।

एन्फाले खेलका लागि टिकट दर समेत सार्वजनिक गरेको छ । सामान्य टिकटदर ३०० रहनेछ भने भिआईपी टिकट मूल्य दर ५०० तोकिएको छ । उद्घाटन समारोह र मैत्रीपूर्ण खेलको हाफ टाइममा नेपाल र चीनका साँस्कृतिक आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ ।

तर प्रतियोगितामा नेपाली टोलीबाट कुन स्तरका खेलाडीले खेल्ने भन्ने हालसम्म सार्वजनिक गरिएको छैन । अधिकांश सिनियर खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त रहँदा एन्फाले कुनै निर्णय लिन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच गत महिना भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र युवा फुटबल टिमको यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने सन्दर्भमा प्रारम्भिक छलफल भएको थियो । तर एन्फाले हालसम्म यू–२१ टोली निर्माणबारे कुनै जानकारी दिएको छैन ।