images

एपीएफलाई हराउँदै पुलिस बन्यो ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन

काठमाडौं– ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय क्लब एपीएफलाई हराउँदै पुलिसले उपाधि उचालेको हो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा पुलिसले एपीएफलाई ३–१ को सेटमा पाखा लगाएको हो । एपीएफले पहिलो सेट २५–२२ ले जिते पनि त्यसपछि लगातार ३ सेट गुमायो । पुलिसले दोस्रो सेट २५–१९, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२३ ले जित हासिल गरेको हो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । गण्डकीले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ को बराबरीमा ल्याएको ।

तर त्यसपछिको २ सेट जित्दै गण्डकी विजयी भयो । गण्डकीले तेस्रो सेट २६–२४ र चौथो सेट २५–२२ ले जित्यो । गएको पुस २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ३ वटा विभागीय टोलीसँगै ७ वटा प्रदेश गरी १० वटा टोलीको सहभागिता रहेको थियो ।