काठमाडौं– एएफसी एसियन कपमा बहराइनविरुद्ध ३–१ को जित निकाल्दै दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ ।
सोमबार कतारको अल रायनस्थित जासिम बिन हमद रंगशालामा भएको खेलमा दक्षिण कोरियालाई जित दिलाउन लि काङ–इनले दुई गोल गर्दा ह्वाङ इन–बिओमले अर्को एक गोल थपे । बहराइनका अब्दुल्लाह अल हसासले एक गोल फर्काएका थिए ।
३८औँ मिनेटमा इन–बिओमले गोल गरेपछि दक्षिण कोरियाले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, ५१औँ मिनेटमा हसासले गोल फर्काएपछि बहराइन खेलमा फर्किएको थियो । त्यसको पाँच मिनेटपछि नै काङ–इनले गोल गर्दै पुनः कोरियालाई २–१ को अग्रतामा राखेका थिए । ६८औँ मिनेटमा काङ–इनले नै गोल गरेपछि दक्षिण कोरियाले अग्रतालाई ३–१ मा पु¥यायो ।
यसपछि थप गोल हुन नसक्दा दक्षिण कोरियाले ३–१ को जितसहित प्रतियोगितामा सुखद सुरुआत गरेको हो । जितसँगै तीन अंक जोडेको दक्षिण कोरिया समूह ‘ई’को शीर्ष स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको बहराइन तालिकाको पुछारमा छ । यो समूहमा दक्षिण कोरिया र बहराइनसँगै जोर्डन र मलेसिया छन् ।